१४ असार २०८३ , आईतवार

चीन आपूर्ति शृङ्खलालाई प्रविधिमैत्री बनाउने महत्वाकांक्षी योजना सार्वजनिक

News
१३ जेष्ठ, काठमाण्डौँ ।

चीनले आज आफ्नो आपूर्ति शृङ्खलालाई प्रविधिमा आधारित, आधुनिक र सशक्त बनाउने लक्ष्यसहित एक महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेको छ।

वाणिज्य मन्त्रालयसहित आठ मन्त्रालयको संयुक्त पहलमा ल्याइएको यो कार्ययोजनाले कृत्रिम बुद्धिमत्ता (artificial intelligence) र डिजिटल अभिलेख राख्ने प्रणालीको प्रयोगमार्फत आपूर्ति शृङ्खलाको पूर्ण रूपान्तरण गर्ने मार्गचित्र प्रस्तुत गरेको छ।

योजना अनुसार, कृषि क्षेत्रमा आपूर्ति शृङ्खलाको सुधार, उत्पादन क्षेत्रको बौद्धिक व्यवस्थापन, थोक बजारमा समन्वय मजबुत पार्ने, खुद्रा क्षेत्रलाई प्रविधिमैत्री बनाउने र ढुवानी खर्च घटाउने कामलाई प्राथमिकता दिइनेछ।

चीनले औद्योगिक तथा आपूर्ति शृङ्खलालाई लचिलो र सुरक्षित बनाउँदै यथार्थ अर्थतन्त्र र डिजिटल प्रविधिबीच पूर्ण समन्वय गर्न विशेष ध्यान दिइरहेको छ। यसै सन्दर्भमा परम्परागत उद्योगहरूलाई प्रविधिमार्फत रूपान्तरण गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

सन् २०३० सम्ममा देशका प्रमुख उद्योग तथा क्षेत्रहरूमा आत्मनिर्भर र बौद्धिक प्रणालीयुक्त डिजिटल आपूर्ति शृङ्खला निर्माण गर्ने तथा करिब एक सय अग्रणी राष्ट्रिय संस्थाहरूलाई प्रविधिमैत्री आपूर्ति शृङ्खला क्षेत्रमा स्थापित गर्ने लक्ष्य यो योजनामा राखिएको छ।