१० जेष्ठ २०८२ , शनिबार

म्याग्दीको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा

News
१० जेष्ठ, काठमाण्डौँ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा रहेको छ। स्वाँत गाउँ नजिकै रहेको मनमोहक छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।

छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेको स्वाँतका बासिन्दा मनबहादुर पुनले बताए। अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा समेटिएको स्वाँत गाउँमा पर्यटकको बसाई लम्बाउन छहरे झरनालाई नयाँ गन्तव्य बनाउनुपर्ने होटल व्यवसायीसमेत रहेका पुनको भनाइ छ। झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा भिरालो पाखोको पैदलमार्गमा हिँड्दा चिप्लिने खतरा छ। छहरे झरनाको सुन्दरता स्वाँत गाउँमै सीमित बनेको छ।

करिब २०० मिटर अग्लो झरना मनमोहक छ। झरनाको फेदीमा निलो आकारको तलाउ छ भने वरपर घना जङ्गल छ। चराको चिरबिर आवाज सुन्न सकिन्छ। पहाडको फेदीमा रहेको झरना नजिकै भिरमौरीको घार (बासस्थान) छ, जहाँ हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता स्वाँतका बासिन्दाले महशिकार गर्छन्।

छङछङ गर्दै झर्ने झरनाको आवाजले मन्त्रमुग्ध बनाउने स्थानीय बलबहादुर तिलिजा पुनले बताए। छहरे झरना अवलोकन गर्दै तनाव भुल्न र थकान मेटाउन सकिने उनी बताउँछन्। शान्त र एकान्त वातावरणमा रमाउन पाउनु पनि छहरे झरनाको विशेषता हो। झरनामा घाम पर्दा इन्द्रेणी देखिन्छ। नजिक नजिक दुई वटा झरना रहेका छन्। ठूलो छहरे झरनाभन्दा करिब २०० मिटर तल रहेको अर्को झरनालाई सानो छहरेका नामले चिनिन्छ। स्वाँत गाउँदेखि करिब २० मिनेट पैदलयात्रा गरेपछि छहरे झरनामा पुगिन्छ। झरनाको माथिल्लो भागसम्म कच्चि सडक पनि छ। स्वाँत गाउँमा होटल र होमस्टे (घरबास)को सुविधा छ।

अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले छहरे झरनाको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन पहल गरेको बताए। सडक पुगेको ठाउँदेखि झरनाको फेदीसम्म ढुङ्गाको सिँढी चिनेर पदमार्ग, दृश्य अवलोकनस्थल र विश्रामस्थल बनाउन अध्ययन गरिएको वडा अध्यक्ष तिलिजाले जानकारी दिए।