६ असार २०८२ , शुक्रबार

चेपाङ बालबालिका अब्बल बन्दै, कान्देश्वरी आधारभूत विद्यालय पालिकाकै उत्कृष्ट

News
१२ जेष्ठ, काठमाण्डौँ ।

 चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन्। चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ।

यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए। शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनको भनाइ छ। यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकामा एक जनाले ए प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन्।

चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताउँदै उनले यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइने गरेको बताए। यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ। सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए।