२४ जेष्ठ २०८२ , शनिबार

तनहुँको चण्डीदेवी विद्यालयमा दृष्टिविहीनलाई निःशुल्क आवासीय शिक्षा

News
२३ जेष्ठ, काठमाण्डौँ ।

तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ ।

दृष्टिविहीन विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक रामचन्द्र पोखरेलले बताए । उनीहरूलाई ब्रेल पाठ्यपुस्तकको व्यवस्था पनि गरिएको छ ।

अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई शिक्षाको उज्यालोबाट वञ्चित हुन नदिन आवासीय अध्यापनको व्यवस्था मिलाइएको बताए ।

हाल व्यास नगरपालिकाले विद्यालयलाई प्रतिविद्यार्थी रु ५० हजारका दरले १० महिनाका निम्ति अनुदान उपलब्ध गराएको छ ।