कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न ६ प्रजातिका चैते धानको परीक्षण गरेको छ।
कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रम अन्तर्गत मनहरीमा चैते धान परीक्षण गरिएको हो। कार्यालयले आलु र मकैको पनि परीक्षण गरेको छ। कालिका नगरपालिकामा मकैको परीक्षण जारी छ भने खैरहनी नगरपालिकामा आलुको परीक्षण सम्पन्न भइसकेको छ।
मनहरीमा हर्दिनाथ हाइब्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको छ। कुन जातको चैते धानबाट कति उत्पादन हुन्छ भनेर परीक्षण भइरहेको छ। परीक्षणका क्रममा रासायनिक मल, विषादी, प्राङ्गारिक मल र पानीको प्रयोगको मात्राले उत्पादनमा पार्ने प्रभावबारे पनि अध्ययन भइरहेको छ।
यसैगरी, खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजनको परीक्षण गरिएको छ। नाइट्रोजनको मात्राअनुसार धानमा आउने परिवर्तन अध्ययन गर्न परीक्षण गरिएको हो। नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाइ र उत्पादनबारे जानकारी हुने सूचना अधिकारी त्रिपाठीले बताउनुभयो।