२९ जेष्ठ २०८२ , बिहीबार

कार्नी र ट्रम्पबीच आज भेटवार्ता, भन्सार शुल्क र विलयको धम्कीबारे छलफल हुने

News
२३ बैशाख, काठमाण्डौँ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज ह्वाइट हाउसमा भेटवार्ता हुँदैछ। कार्नीले हालैको चुनावमा जित हासिल गरेपछि ट्रम्पसँगको यो पहिलो भेट हो। भेटमा ट्रम्पले लगाएको भन्सार शुल्क र क्यानाडालाई अमेरिकामा विलय गर्ने धम्कीबारे छलफल हुने बताइएको छ।

लिबरल पार्टीका नेता कार्नीले ट्रम्पको नेतृत्वमा अमेरिकामा धेरै परिवर्तन आएको र यसअघिको जस्तो सम्बन्ध नरहेको बताएका छन्। उनले ह्वाइट हाउसमा हुने बैठकबाट तत्कालै कुनै सम्झौताको अपेक्षा नगरेको पनि स्पष्ट पारेका छन्।

ट्रम्पले क्यानाडालाई आफ्नो मुख्य सहयोगी र व्यापारिक साझेदारको रूपमा लिने गरे पनि पछिल्लो समय दुई देशबीच व्यापार युद्ध चर्किँदै गएको छ। ट्रम्पले क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न बारम्बार आह्वान गर्दै आएका छन्।

ह्वाइट हाउसका अनुसार ट्रम्पले कार्नीलाई आज बिहान ११ः३० बजे लन्चका लागि स्वागत गर्नेछन् र त्यसपछि ओभल अफिसमा दुई नेताबीच भेटवार्ता हुनेछ। ट्रम्पले क्यानाडा र मेक्सिकोमा २५ प्रतिशतको भन्सार शुल्क लगाएका छन् भने अटो क्षेत्रमा पनि थप कर लगाएका छन्। यसअघि उनले स्टिल र एल्युमिनियममा पनि यस्तै भन्सार शुल्क लगाएका थिए।

कार्नीले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो राजनीतिक र आर्थिक परिवर्तनसँगै अमेरिका-क्यानाडा सम्बन्धलाई पुनर्निर्माण गर्ने वाचा गरेका छन्। क्यानाडाली प्रधानमन्त्रीले भन्सार शुल्कमा ‘सर्वोत्तम सम्झौता प्राप्त गर्न लड्ने’ बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जस्तै कार्नी पनि ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको आलोचनाबाट जोगिनुपर्ने चुनौती छ। कार्नीको जित अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ट्रम्पको भन्सार शुल्कको धम्कीका बीच पुनः चुनाव जितेको केही दिनपछि आएको हो।

अमेरिकी राजधानीमा पुगेपछि क्यानाडाली प्रधानमन्त्रीले सामाजिक सञ्जालमा क्यानाडा र अमेरिका सँगै काम गर्दा बलियो हुने र त्यो काम आजबाट सुरु हुने बताएका छन्।