नेपालमा लोकतन्त्र र समाजवादलाई बलियो बनाउन बिपी (विश्वेश्वरप्रसाद कोइराला) का आदर्श र विचारहरू अहिले पनि महत्वपूर्ण रहेको भन्दै वक्ताहरूले त्यसलाई पछ्याउनुपर्ने बताएका छन्।
बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालले आयोजना गरेको ‘बिपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बिपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताहरूले बिपीका विचारहरू समाजवाद र लोकतन्त्रका लागि मार्गदर्शक हुने धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र आएपछि सडक जस्ता पूर्वाधारमा सुधार भए पनि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए। उनले भने, “अहिले गाउँ–गाउँमा राम्रा सडक बनेका छन्, ९५ प्रतिशतभन्दा बढी मानिसहरूले बिजुली पाएका छन्। तर कृषि र उद्योग क्षेत्र भने कमजोर भएको छ। यसमा ध्यान दिन जरुरी छ।”
डा. यादवले बिपीले ग्रामीण जीवनको विकासलाई समाजवादको आधार मानेकोले कृषि र गाउँको अर्थतन्त्रलाई विकास गर्न सके आर्थिक विकास सम्भव हुने बताए। उनले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरणले समस्या पारेको र नदीनाला तथा चुरे क्षेत्रको संरक्षण गरेर वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिए।
उनले लोकतन्त्र स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान भए पनि कार्यकर्ताहरूमा अपनत्वको भावना कम भएको बताए। साथै, नेपालको ऐतिहासिक उपलब्धिहरू देखाउन सङ्ग्रहालय बनाउनुपर्ने उनको धारणा थियो।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपीले देखेको समाजवादको सपना पूरा गर्न केही स्थानीय तहहरूलाई नमूनाको रूपमा विकास गर्न सकिने बताए। उनले भने, “बिपीको विचारलाई कार्यान्वयन गर्न सक्यौं भने उहाँको सपना पूरा हुन्छ। त्यसको लागि सुरुमा एक–दुईवटा गाउँलाई उहाँले चाहेजस्तो बनाउन सकिन्छ।”
डा. कोइरालाले सरकारमा रहेकाहरूले आफ्नो कमजोरी लुकाउन व्यवस्था नै खतरामा छ भनिरहेको आरोप लगाए। उनले गणतन्त्र खतरामा नरहेको र संविधानमा भएका कमजोरीहरूलाई सुधार्नुपर्नेमा जोड दिए। शिक्षक, चिकित्सक, कर्मचारी, लघुवित्तपीडित र सहकारी पीडितहरू आन्दोलनमा रहेको र सरकारले उनीहरूको आवाज सुन्नुपर्ने उनको भनाइ थियो।
उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गरेर सरकारले कानुन तोडेको र सार्वजनिक संस्थाहरूमा राजनीतिक नियुक्ति गर्ने प्रवृत्ति रोकिनुपर्ने बताए।
पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेताहरूले देशको हितमा निर्णय गर्नुपर्ने बिपीको नीतिको मूल सार रहेको बताइन्। उनले अर्थतन्त्र बलियो भए मात्र प्रजातन्त्र बलियो हुने र ग्रामीण विकासलाई केन्द्रमा राखेर सरकारले नीति बनाउनुपर्ने बताइन्।
नेपाली कांग्रेसका नेता एनपी साउदले बिपीले सबैको कुरा सुन्ने गरेको स्मरण गर्दै अहिले कांग्रेसभित्र प्रश्न उठाउनेलाई सम्मान गर्ने परम्परा कम हुँदै गएको बताए। उनले बिपीका विचारहरूबाट प्रजातन्त्रलाई बलियो बनाउन र देशलाई स्थिर बनाउन सकिने बताए।
पूर्वमुख्यसचिव विमल कोइरालाले बिपी समाजवादको द्रष्टा रहेको र कांग्रेसले उनको सिद्धान्त बिर्सेर सत्ताको स्वार्थमा लागेको आरोप लगाए। उनले सार्वजनिक संस्थाहरूलाई बलियो बनाउन सके मात्र शासन बलियो हुने बताए।
डा. सुन्दरमणि दीक्षितले कांग्रेसले बिपीको सिद्धान्त बिर्सेर कम्युनिष्ट विचारधारा बोकेको आरोप लगाए। राजनीतिक विश्लेषक सिके लालले बिपीलाई बुझ्नको लागि उनको राजनीतिक दर्शनका साथै साहित्य पनि बुझ्न आवश्यक रहेको बताए।
पूर्वराजदूत प्रा लोकराज बरालले बिपी कोइराला राजनीतिक, आर्थिक र साहित्यिक क्षेत्रमा पुनर्जागरणको प्रतीक रहेको बताए। संयुक्त राष्ट्रसङ्घका पूर्वस्थायी प्रतिनिधि प्रा डा जयराज आचार्यले शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत आवश्यकता पूरा गर्न नसके बिपीको समाजवादले सार्थकता नपाउने धारणा राखे।
कार्यक्रममा बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालका अध्यक्ष इन्दिरा थापाले ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तकले समाजवादलाई अहिलेको अवस्थामा कसरी बुझ्ने भन्ने विषयमा सहयोग गर्ने बताइन्।