बालबालिकालाई अनुशासित र नैतिकवान बनाउने उद्देश्यले नेपाल स्काउट लुम्बिनी प्रदेशले आयोजना गरेको एकहप्ते तालिम बुटवलमा सुरु भएको छ ।
बुटवल माविमा सुरु भएको तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभासदस्य लीला गिरीले आफू सहित समाजलाई नैतिकवान बनाउने कुरामा स्काउटले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। उनले भनिन्, “व्यक्ति नैतिकवान र चरित्रवान भएमा मात्र समुन्नत र समृद्ध समाज बन्छ।” कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बञ्जाडेले स्काउटका गतिविधि सबै विद्यालयमा पु¥याई विद्यार्थीको सामाजिक र व्यावहारिक जीवनमा परिवर्तन ल्याउन आग्रह गरे।
नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक विजेन्द्रलाल ध्वजूले सम्पूर्ण सामुदायिक विद्यालयमा स्काउट हुन जरुरी रहेको बताए। कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझीले स्काउटका माध्यमबाट बालबालिका अनुशासित बन्नेमा जोड दिए।
कार्यक्रममा प्राडा आरसी आचार्य, रुपन्देही व्यापार सङ्घ कोषाध्यक्ष मणि खनाल, नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य तथा मुख्य प्रशिक्षक सुशीला कुमारी विष्ट, प्याब्सन पूर्व अध्यक्ष लालहरि पाण्डेलगायतले स्काउटको महत्वमाथि प्रकाश पारेका थिए। लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त तथा कार्यक्रमका अध्यक्ष दिनानाथ भट्टराईले एक घर एक स्काउट बनाउने गरी स्काउट अघि बढेको जनाउँदै स्वार्थभन्दामाथि उठेर स्काउटले समाज सेवा गर्दै आएको बताए।