२९ बैशाख २०८२ , सोमबार

बुद्ध जयन्ती : लुम्बिनीदेखि स्वयम्भू सम्म भक्तजनको घुइँचो

News
२९ बैशाख, काठमाण्डौँ ।

आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी मनाइँदैछ। विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ। बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ।

स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौद्ध धर्मगुरु, भिक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ।

स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए। बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ। दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ। स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ।