२६ जेष्ठ २०८२ , सोमबार

विपी राजमार्ग जीर्ण, वर्षायाममा थप जोखिम, पुनर्निर्माणको पर्खाइमा

News
२६ जेष्ठ, काठमाण्डौँ ।

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग विपी राजमार्गका सडकखण्ड अहिले जीर्ण बनेका छन्। राजमार्गको मध्यक्षेत्र भत्किएको र जोखिमपूर्ण अवस्थामा पुगेको छ। गत असोजमा भएको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको थियो।

२०७२ सालको विनाशकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए। जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको थियो। करिब २६ अर्ब जापानी रुपियाँ बराबरको लागतमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोडेको छ। यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौंँ घुम्नुपर्ने झन्झट हटेको थियो।

राजमार्गअन्तर्गत पर्ने पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन्। वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ। गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पु¥याएको छ। गत वैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको छ।

राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन। अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो। सडक विभागले तयारी पनि गरेको छ, तर वर्षात्ले काम सुरु गर्न मुस्किल बनाइरहेको छ। सडक विभागको अध्ययन प्रतिवेदनअनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै रु १० अर्ब लाग्नेछ। भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ।

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक अध्ययनले विपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ। तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आइरहेका छन्। बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाधरुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मूकदर्शक बन्ने गरेको देखिन्छ। बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने ट्रिपर रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना–ठूला गरी दैनिक तीन हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन्। मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन्। यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रो बस बढी सञ्चालन हुने गरेका छन्।

यसैबीच गत असोज दोस्रो साता रोशी खोलाको बाढीले विपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको छ।

काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेंसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८ दशमलव ५ किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनीयर सुमन योगेशले जानकारी दिए।

बर्खेखोलादेखि डालाबेँसीसम्मको ५ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जाइकासँग छलफल भएअनुसार जाइकाले स्थलगत अध्ययन गरिरहेकाले यस सडकखण्ड पुनःनिर्माणका लागि जापान सरकार करिब तयार जस्तै देखिएको इन्जिनीयर योगेशले बताए। यस सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उनको भनाइ छ।