२५ जेष्ठ २०८२ , आईतवार

सुनकोशीमा डुबेर किशोर बेपत्ता, तीन दिनदेखि खोजी जारी, गोताखोर बोलाउने तयारी

News
१२ जेष्ठ, काठमाण्डौँ ।

 खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राई सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्। तीन दिनदेखि उनको खोजी कार्य तीव्र पारिए पनि हालसम्म फेला पार्न सकिएको छैन।

डिकुवाका वडाध्यक्ष देवेन्द्र राईका अनुसार, शनिबार बिहान करिब ११ बजे पौडी खेल्ने क्रममा सविनलाई सुनकोशीले बगाएको थियो। घटनाको जानकारी पाउनासाथ स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट तत्कालै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिए। धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग डिकुवा गएका सविन तुइम्बुस्थित बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्न नदीमा पसेका थिए।

तीन दिन बितिसक्दा पनि सविन फेला नपरेपछि गोताखोर बोलाएर खोजी कार्यलाई तीव्रता दिन माग गरिएको छ। हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले भनिन्, “छोरा घर नफर्कँदा परिवार भावविह्वल भएको छ। उनीहरू आफ्नो छोरा जीवित नभेटिए पनि शव हेर्न चाहन्छन्। हामीले गोताखोर टोली झिकाएर खोजी गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छौं।”

जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले खोजी जारी राखेको र आवश्यक परे गोताखोर बोलाउने तयारी भइरहेको बताए। “जिल्लाबाट खटिएको टोलीले फेला पार्न नसकेको खण्डमा सुरक्षा समितिको बैठक बसेर गोताखोर झिकाउने निर्णय गर्नेछौं,” उनले भने।