२६ जेष्ठ २०८२ , सोमबार

बिर्तामोडमा १४ किलोमिटर सडक कालोपत्र हुँदै

News
७ जेष्ठ, काठमाण्डौँ ।

बिर्तामोड नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा १४ किलोमिटर सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ । सडक डिभिजन कार्यालयका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । यी सडकहरूले नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्नेछन् र यसको कुल निर्माण लागत रु एक अर्बभन्दा बढी रहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा वडा नम्बर ६, ७ र ८ जोड्ने ६ किलोमिटर २५८ मिटर लामो सडकमा कालोपत्र भइरहेको छ । आरपी समता जेभीले रु ५८ करोडमा ठेक्का लिएको यो सडक जेठको तेस्रो सातासम्ममा सम्पन्न हुने बताइएको छ ।

बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडकको पहिलो खण्डमा सिद्धीथुम्का एभरग्रिन जेभीले रु पाँच करोड ६० लाखमा, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएका छन् ।

वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले निर्माण गरिरहेको छ ।

विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छ भने पहिलो र अन्तिम खण्डमा काम जारी छ ।

कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य भइरहेको छ ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको जानकारी दिइन् ।