वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकको सीताराम चोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो।
"बिग्रिएर सडकमै रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ," प्रहरी नायब उपरीक्षक लम्सालले भने। दुर्घटना शुक्रबार बिहान ५ बजे भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका विजय यादव छन्। सोही ठाउँका २२ वर्षीय विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।