वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। कार्यालयले यस अवधिमा ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।
कार्यालयका अनुसार, चालु आवको १० महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा ४६.२६ प्रतिशत रहेको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा निर्भर रहेको बताए।
त्यस्तै, दोस्रो धेरै राजस्व यातायात साधन र तिनका पार्टपूर्जा आयातबाट सङ्कलन भएको छ। यसबाट १५ अर्ब २४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा १०.९३ प्रतिशत रहेको छ।
यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट ५ अर्ब २५ करोड राजस्व सङ्कलन भएको छ भने मेसिनरी तथा पार्टपूर्जा आयातबाट ४ अर्ब ५५ करोड राजस्व सङ्कलन भएको छ। इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपूर्जा आयातबाट ३ अर्ब ३७ करोड राजस्व सङ्कलन भएको छ। चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट २ अर्ब ८७ करोड राजस्व सङ्कलन भएको छ। सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट २ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ भने शृङ्गारका सामान आयातबाट २ अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ।