१६ जेष्ठ २०८२ , शुक्रबार

वरिष्ठ साहित्यकार मोहन सिटौलाको जीवनीमा आधारित पुस्तक विमोचन

News
१४ जेष्ठ, काठमाण्डौँ ।

वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पुस्तक विमोचन गर्दै सिटौलाको योगदानबारे स्मरण गराउन पुस्तकले मद्दत पुग्ने बताए । सिटौलाका बारेमा अझ ठूलो बृहत् पुस्तक निकाल्ने तयारी भइरहेको जानकारी दिँदै उनले यो पुस्तक उक्त बृहत् पुस्तकलाई पूर्णरूप दिन महत्वपूर्ण खुराक हुने बताए ।

पुस्तकको समीक्षा गर्दै प्रा डा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपाली, चार अङ्ग्रेजी र चार शुभकामनासहित गरी ५८ लेखकका लेख रहेको बताइन् । उनले हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण) भएको उल्लेख गरिन् । अर्का समीक्षक प्रा डा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्टभूमि केलाएका थिए ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं पूर्वक्याम्पस प्रमुखसमेत रहेका सिटौलाका ११ पुस्तक प्रकाशित भइसकेका छन् । उनी ८२ वर्षको उमेरमा पनि थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागि रहेको जानकारी दिइयो ।

अमेरिकामा रहेका सिटौलाले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गरेका हुन् ।