२६ जेष्ठ २०८२ , सोमबार

झापाको हल्दिबारीमा भुतेनी खोलामा पुल निर्माण, राजेन्द्र लिङ्देनले उद्घाटन

News
७ जेष्ठ, काठमाण्डौँ ।

झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण सम्पन्न भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको उद्घाटन गर्दै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताए। उनले हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा फड्को मारिरहेको भन्दै सबैलाई बधाई दिए।

गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको जानकारी दिए। यससँगै भुसुडी खोलामा थप दुईवटा पुल निर्माण सम्पन्न हुन लागेको उनले बताए।

कार्यक्रममा नेकपा (एमाले) हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद् भएको बताए। गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नयाँ र पुराना योजना सञ्चालन गरिरहेको बताउँदै उनले स्थानीय तहकै बजेटमा पुल निर्माण हुनु गौरवको विषय बनेको उल्लेख गरे।

हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलामा एउटा र भुसुडी खोलामा दुईवटा गरी रु चार करोड ९६ लाख ८५ हजार ९२८ को लागतमा पुल निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए। भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत रु दुई करोड ३० लाख रहेको छ भने लम्बाइ ४२.७ मिटर र चौडाइ ७.२ मिटर रहेको छ। पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो। गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी सारा सृष्टिसँग २०७९ मङ्सिर ७ गते सम्झौता गरेको उनले बताए।

पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ वासीको सिधा सम्पर्क भएको छ भने वडा नं ५ र १ का हजारौं स्थानीयवासी लाभान्वित भएका नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए। वर्षायाममा आवातजावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ।