रुपा गाउँपालिका भिरचोक गाउँका भोजबहादुर गुरुङ र उनकी श्रीमती छलुले सञ्चालन गरेको होमस्टेले पर्यटकलाई लोभ्याएको छ। चिटिक्क परेको घरआँगन र न्यानो आतिथ्यताले जो कोहीलाई पनि मोहित पार्छ।
घरको मूल ढोकाको छेउमा ‘भिरचोक सामुदायिक होमस्टे नं ९’ लेखिएको सूचना झुण्ड्याइएको छ। गुरुङ दम्पतीले घरमा तीनवटा कोठा घरबासका लागि छुट्याएका छन्। ती कोठाहरूलाई पनि आकर्षक रूपमा सजाइएको छ। उनीहरूका एक छोरा र एक छोरी वैदेशिक रोजगारीमा छन् भने दुई छोरा र एक छोरी पोखरामा बस्छन्।
छोराछोरी बाहिर भए पनि उनीहरू होमस्टेका माध्यमबाट पर्यटकलाई स्वागत गरिरहेका छन्। अतिथिलाई न्यानो आतिथ्यता प्रदान गर्दै आएको गुरुङले बताए। होमस्टेको नियम अनुसारका ‘प्याकेज’मा कुनै कमी नहुने गरी उनीहरूले बेलुकाको खाजा नास्तादेखि खाना र बिहानको खाजा खुवाउने गरेका छन्। प्याकेजका लागि प्रतिव्यक्ति रु एक हजार २०० निर्धारण गरिएको छ।
पेसाले भारतीय सेनामा रोजगारी गरी निवृत्त भएर गाउँ फर्कनुभएका गुरुङ ५१ सालपछि यहाँ बस्दै आउनुभएको छ। गाउँको स्वच्छ हावपानी छोडेर सहरतिर जान मन नलाग्ने बताउँदै उनले पछिल्ला समयमा गाउँमा सबै किसिमका सेवा सुविधा आइसकेका उल्लेख गरे।
गाउँको पर्यटकीय सुन्दरता र सम्भावनालाई दृष्टिगत गरी विगत एक वर्षयता यहाँका चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा चिसापानी भिरचोक सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
यहाँस्थित चिसापानी गाउँ करिब एक हजार ३६५ मिटर उचाइमा रहेको छ भने नजिकै १० मिनेटको पैदलयात्रापछि भिरचोक गाउँ पुगिन्छ। समुद्री सतहबाट करिब एक हजार २३३ मिटर उचाइमा भिरचोक गाउँ रहेको छ। चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा यहाँका ३० घरमा होमस्टे सञ्चालन भइरहेको अध्यक्ष गुरुङले बताए। यहाँका होमस्टेमा पाहुनाका लागि सकेसम्म आफ्नै खेतबारीमा उत्पादन भएको प्राङ्गारिक खाना खुवाउने गरिन्छ। त्यस्तै सांस्कृतिक रूपमा यहाँका स्थानीयले पाहुनालाई गुरुङ संस्कृति अन्तरगतका सोराठी, घाटु, चरित्र, चुड्का, झोरा जस्ता विभिन्न नृत्य देखाउने गरिएको छ।
पर्यटकले यहाँस्थित हात्तीमता भ्यु प्वाइन्टसँगै नेपालको सबैभन्दा अग्लो झण्डाको साथमा रुपाकोट काल भैरवको मन्दिर, दुर्गादेवी मन्दिर, शिव, कमलादेवी, सरस्वती बराज्युलगायत धार्मिक एवं ऐतिहासिकस्थल अवलोकन गर्न पाउँछन्।
यस ठाउँमा तनहुँको दमौलीसहित पावर हाउस, ताल चोकलगायत स्थानबाट सवारीसाधनमार्फत आउन सकिन्छ। पछिल्ला समयमा होमस्टेमा संस्थागत रूपमा विभिन्न समूह आउने गरेको यहाँका होमस्टे सञ्चालक बताउँछन्।