नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन्।
आज ननिटनको काउन्सिल हलमा सम्पन्न वार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु मेयर पदमा निर्वाचित भए। लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गरे। अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए। मेयरमा निर्वाचित भएका सारुले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनियताको शपथ लिए। उनलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गरे।
शपथ ग्रहणपछि मेयर सारुले नेपालको ग्रामीण भेगमा जन्मिएर बुवाको पाइला पछ्याउँदै बेलायती फौजमा भर्ती भएको सामान्य मानिसलाई बेलायतमा मेयरको रूपमा सेवा गर्ने अवसर दिएकामा काउन्सिल तथा बरोका सम्पूर्ण जनतालाई धन्यवाद दिए। सो अवसरमा उनले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताए। शपथग्रहण पछि कार्यभार सम्हालेलगत्तै मेयर सारुले नेपालमा जन्मिए पनि बेलायतमा मेयर सम्म बन्न पाएकामा खुसी व्यक्त गरे।
विश्वका विभिन्न ठाउँमा नेपालीले पनि नेतृत्व तहमा बसेर काम गर्न पाउनु समग्र नेपालकै गर्व भएकाले उनले आफूले सिकेका कुरा नेपालमा साटासाट गर्न तयार रहेको बताए। उनले भने, “सबैभन्दा पहिले त मेयरको रुपमा आफूले काम गर्ने जिम्मेवारी पाएको बरोकै हित समग्र विकासका लागि मेरा योजनाहरु कार्यान्वयन गर्ने हो। त्यसका लागि यहाँको समुदायका विषयहरु मेरा प्राथमिकताहरु हुन्। यहाँ पनि ठुलो सङ्ख्यामा नेपाली समुदाय छ, पक्कै उनीहरुलाई केही सहज हुनेछ। मेयरका रुपमा मेरो अनुभव नेपालका लागि पनि फलदायी हुनसक्छ। म मेयरहरुसँग सहकार्य गर्न सकारात्मक छु।” बेलायतमा गोर्खा भर्तीको दुई सय बर्षभन्दा लामो इतिहासमा पूर्व गोर्खाको तर्फबाट नेपालमा जन्मिएका व्यक्ति पहिलो पटक मेयरको रुपमा निर्वाचित हुन पाउँदा खुसी लागेको उनले बताए।
को हुन् सारु?
पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेका हुन्। त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए। झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गरेका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन्। सारु रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवा निवृत भएका हुन्। बेलायतमा सन् २०१७ देखि सारु ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहेका सारु बेलायतमा सफल व्यवसायी मात्रै नभएर समाजसेवी समेत हुन्। उनी विगत चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन्।