बेनी नगरपालिकाभित्र विद्यार्थी सङ्ख्या घट्दै गएपछि दुई विद्यालय बन्द भएका छन्। बेनी नगरपालिका-५ को माथिल्लो गाजनेमा रहेको जगन्नाथ आधारभूत विद्यालय र वडा नं. १० को ओखले आधारभूत विद्यालयमा विद्यार्थी नभएपछि बन्द भएका हुन्।
बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुईवटै विद्यालयका शिक्षकलाई नजिकैका विद्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए।
“बन्द भएका जगन्नाथ र ओखले आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा कक्षा १-३ बाट घटुवा गरेर बाल कक्षा मात्र सञ्चालन गरिएको थियो,” ढकालले भने, “यसपाली बाल कक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन्।”
गत वर्ष ओखले आधारभूत विद्यालयमा पाँच र जगन्नाथ आधारभूत विद्यालयमा तीन जना विद्यार्थी थिए। ओखलेका बाल विकास सहयोगीलाई दिपक मावि र जगन्नाथका बाल विकास सहयोगीलाई डिम्ब आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।
सुविधायुक्त भवन, इन्टरनेट, विद्युत, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ। नगर प्रमुख सुरत केसीका अनुसार कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो।
तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न नसक्नु जस्ता कारणले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन्। साथै, विषयगत शिक्षक नपाउनु पनि अर्को समस्या भएको नगर प्रमुख केसीले बताए।