२४ फाल्गुन २०८२ , आईतवार

भण्डारा फर्मले ३ लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार पारेको छ।

News
२६ जेष्ठ, काठमाण्डौँ ।

व्यावसायिक किट विकास फर्म भण्डाराले तीन लाखभन्दा बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ। फर्मले आफ्नै १.५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो।

फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले तीन लाखभन्दा बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन्। यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन्। गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो। किम्बुको बिरुवा सार्नका लागि अबको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उनले बताइन्। फर्मले बिरुवाको प्रतिगोटा रु ५ मा बिक्री गर्दै आएको छ।

रेशमखेती गर्ने किसान विस्थापित भएसँगै यहाँको बिरुवा डाले घाँसको रुपमा बिक्री गरिँदै आएको छ। उनले भनिन्, “रेशमखेती गर्ने किसान विस्तापित भएपछि अहिले घाँसेबालीका रुपमा यसलाई बिक्री गरिरहेका छौँ।” बिरुवा बिक्रीका लागि पालिकासँग समन्वय गरिएको उनले बताइन्।

उनका अनुसार पहिला मधेश प्रदेशका किसान बिरुवा लिन आउने गरेका थिए। अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन्। सो प्रदेशमा स्थानीय रुपमा नर्सरीहरुले बिरुवा उत्पादन गर्न थालेकाले र यसलाई किसान आफैँले कलमीमार्फत बिरुवा तयार गर्न थालेकाले त्यस क्षेत्रका किसान कम आएको उनले बताइन्। फर्ममा कान्भा दुई जातको किम्बुका बिरुवा बिक्रीका लागि तयारी भएका हुन्। फर्मले अहिले नमूना बगैँचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ। मातृ संरक्षण अन्तर्गत विभिन्न जातका बिरुवा लगाएर संरक्षण गरिरहेको छ।

यहाँ उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौँ, नवलपरासी, बागलुङ, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा बिक्री गरिने गरिएको छ। अहिले जिल्लामा रेशमखेती गर्ने किसान छैनन्।