बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनले ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ । उनले भविष्यमा काम नपाएर बेरोजगार हुनुपर्ला भन्ने चिन्ता हटेको बताए।
बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौ, हामी गर्छौ) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका १९ जना विद्यार्थीलाई २० दिनसम्म घर तथा भवनमा वायरिङ गर्ने सिप सिकाइएको थियो ।
बेनी–८ कालीपुलमा रहेको बालमन्दिर माविको कक्षा ९ का विद्यार्थी आस्विम किसान ४ बजे विद्यालय छुट्टी भएपछि थप दुई घण्टा पलम्बीङसम्बन्धी सिप सिकेर छ बजे घर जान्छन् । आस्मिनजस्तै कक्षा ८, ९ र ११ मा पढ्ने १६ जना विद्यार्थीले उनिहरुको रुचीअनुसार २१ दिने पलम्बीङसम्बन्धी सिप सिकिरहेका छन् ।
बेनी सामुदायिक विद्यालयले सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी कक्षा ११ का सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सिपले सहज हुने बताए।
सरस्वतीका जोन, बालमन्दीरका आस्विन र बेनी सामुदायिकका सुयोग जस्तै बेनी नगरपालिकाको मावि तहका विद्यार्थी हिजोआजा विभिन्न सिपमुलक तालिम लिइरहेका छन् । बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीहरुलाई पढाइसँगै सिप सिकाउने व्यवस्था मिलाएको हो ।
बेनीमा रहेका १६ वटा माध्यमिक विद्यालय मध्य१४ वटाले सिपमुलक तालिम सञ्चालन गरेका छन । चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले उक्त कार्यक्रमका लागि प्रत्येक विद्यालयलाई रु एक/एक लाखका दरले रु १६ लाख बजेट बिनियोजन गरेको थियो । ३३० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका नगर शिक्षा अधिकृत कमल ढकालले बताए।
विद्यालयले ‘हाउस वायरिङ’, ‘पलम्बीङ’, ‘हेयर कटिङ’, भित्तेलेखन, यान्त्रिक हलो मर्मत, ‘सर्वे क्याम्प’ बाँसबाट सजावटका सामान बनाउने, सौन्दर्यकला, च्याउ र खुर्सानी खेतीसम्बन्धी सिप सिकाउन तालिम सञ्चालन गरेका छन् ।
विद्यालयले सिकेका सिपको व्यवहारमा प्रयोगमा ल्याएर उद्यम व्यवसाय गर्नु भन्दा पनि वैदेशिक रोजगारीतर्फ बढ्दो आकर्षण यस कार्यक्रमको प्रमुख चुनौति हो। आधारभूत तहको सिप सिकेकालाई ब्यवसाय बन्न चाहेमा विद्यालय अथवा नगरपालिकाले विउपुजीको ब्यवस्था गरेर ‘पढ्दै कमाउदै गर्ने’ कार्यक्रममा जोड्न सकेमा थप प्रभावकारी हुने बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताए।