बाँके जिल्लामा वैशाख महिनामा मात्रै विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन्। बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार तीमध्ये सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन्।
नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो। सो आगलागीबाट रु एक करोड बराबरको औषधिजन्य सामग्री जलेर क्षति भएको अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालले जानकारी दिए।
बारुण नियन्त्रण शाखाका इन्चार्ज झैनबहादुर खड्काले डुडुवा गाउँपालिकामा दुई, जानकी गाउँपालिकामा दुई, राप्तीसोनारी गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा एक आगलागीका घटना भएको जानकारी दिँदै यी जिल्लामा भएका ठूला घटना रहेको उल्लेख गरे। विद्युत् अनियमितताका कारण अधिकांश ठाउँमा आगलागीका घटना भएका उल्लेख गर्दै उनले मानवीय क्षति भने नभएको बताए।
पर्याप्त मात्रामा वर्षा नहुनु, सुख्खा बढ्नुलगायत कारणले आगलागीको जोखिम बढेको भन्दै इन्चार्ज खड्काले घटनाको खबर हुनासाथ दमकल घटनास्थलतर्फ पुग्ने गरेकाले मानवीय क्षति नभएको दाबी गरे।
उनले नेपालगञ्जमा लागेका आगलागीमध्ये दोस्रो ठूलो क्षति भएको घटना रुचिवैश्यको भेरी कर्णाली सप्लायर्सको रहेको उल्लेख गरे। नेपालगञ्ज–२२ पुरैनामा भएको उक्त आगलागीमा करिब रु ५० लाख बराबरको सिरक तथा डसना जलेर नष्ट भएको थियो। सो आगलागी नियन्त्रणमा ल्याउन करिब पाँच घण्टा लागेको बारुणयन्त्रका इन्चार्ज खड्काले जानकारी दिए।
वैशाखमा मात्रै भएका विभिन्न आगलागीका घटनामा आगो नियन्त्रणमा ल्याउन एक घण्टा ४५ मिनेटदेखि पाँच घण्टासम्म समय लागेको उनले बताए। कार्यालयले पानी भरेर तीन बारुणयन्त्र तयारी अवस्थामा राखेको जनाउँदै एउटा फायर बाइकसमेत तयारी अवस्थामा रहेको उनले बताए।
उनले कतिपय आगलागी गहुँबाली र उखुबालीमा भएको जानकारी दिँदै आगलागीका घटना हुन नदिन सबै सचेत हुनुपर्ने भन्दै भइहाले सजगता अपनाउन स्थानीयलाई आग्रह गरे।