४ जेष्ठ २०८२ , आईतवार

चितवनमा हुरीले २० प्रतिशत केराखेतीमा क्षति

News
४ जेष्ठ, चितवन ।

 गत साता आएको हुरीसहितको वर्षाले चितवनमा २० प्रतिशत केराखेतीमा क्षति पुगेको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताएका छन्।

उनका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ। ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ। शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ। साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ।

केराखेती गर्दै आउनुभएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पु¥याएको बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्। जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ। यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन्।