१६ जेष्ठ २०८२ , शुक्रबार

जनतालाई सेवा प्रवाह गर्न जनप्रतिनिधि सारथी बन्नुपर्नेमा बागमती प्रदेश प्रमुखको जोड

News
१५ जेष्ठ, काठमाण्डौँ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशका जनतालाई सेवा प्रवाह गर्न र आर्थिक समृद्धिको लागि स्थानीय जनप्रतिनिधि नागरिकको सारथी बन्नुपर्ने बताएका छन्। बागमती प्रदेश, गणतन्त्र दिवस समारोह समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले सरकारले विकासको पूर्वाधार र कृषि उत्पादनलाई आत्मनिर्भर तुल्याउने दिगो योजनालाई कार्यन्वयन गर्दै लैजाने उल्लेख गरे।

प्रदेश प्रमुख देवकोटाले मुलुकमा गणतन्त्रको विकल्प नरहेको उल्लेख गर्दै राजनीतिक नेतृत्वले अब नयाँ सोच र चिन्तनका साथ विकासका लागि योजनाबद्ध भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उहाँले सङ्घीय र प्रदेश सरकारबीच निरन्तर समन्वय र सहकार्य नहुँदा जनतालाई शीघ्र सेवा प्रवाह गर्न समस्या भइरहेको बताए।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले जनताका लागि भौतिक पूर्वाधार, वहुवर्षीय योजना, कृषि उत्पादनलाई जोड्न र पर्यटन क्षेत्रको विस्तारका लागि बजेट आगामी वर्षको बजेट विनियोजन गरी कार्यन्वयन गर्दै लैजानुपर्ने बताए। उनले गणतान्त्रिक व्यवस्थाले सबै राजनीतिक दल र नागरिकलाई सम्मानपूर्वक समान अधिकार प्रत्याभुति गरेकाले गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको स्पष्ट पारे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले सामाजिक न्याय, जनताप्रति मौलिक अधिकारको साथै राजनीतिक दललाई जनताप्रति जवाफदेही हुने प्रक्रिया गणतान्त्रिक पद्दतिमा व्यवस्था गरिएको बताए।

प्रभात फेरी

हेटौँडाको भूटन देवी उच्च माविको प्राङ्गणबाट निस्केको प्रभात फेरीले हेटौँडा नगरको परिक्रमा गर्दै बागमती मन्त्री परिषद्को प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो। प्रभातफेरीमा नेवारी, तामाङ, थारुको मौलिक सांस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो।

उक्त प्रभातफेरीमा प्रदेश प्रमुख देवकोटा, मुख्यमन्त्री तामाङ, मन्त्री, बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाइँ, प्रदेशसभाका सदस्य, सुरक्षा निकायको उच्च अधिकृत, विभिन्न मन्त्रालयका सचिव, हेटौँडा उपमहानगरपालिका प्रमुख मिना लामा, उपप्रमुख राजेश वानिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितमान घलान, विभिन्न कार्यालय प्रमुख र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो।