१६ असार २०८२ , सोमबार

बागलुङका उत्कृष्ट पाँच किसान पुरस्कृत

News
१६ असार, काठमाण्डौँ ।

कृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । आइतबार २२औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषकलाई जनही रु १० हजार र प्रमाणपत्रले सम्मान गरिएको केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ भब्रेटाका चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ का नन्दलाल जैसी, वडा नम्बर ७ का ओमराज शर्मा, वडा नम्बर ४ का तिलोचन सापकोटा र ढोरपाटन–५ का हिमाल कुमार पुनलाई सम्मान गरेको हो ।

कृषकहरूको हौसला बढाउन र कृषि पेसालाई सम्मानित बनाउन पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताए । हरेक वर्ष किसानलाई ज्ञान केन्द्रले पुरस्कृत गर्दै आएको उनको भनाइ छ ।

पुरस्कृत भएका ढोरपाटन नगरपालिका–१ का चन्द्रलाल पाण्डेले पुरस्कारले आफूलाई हौसला थपेको बताए । आफूले २० वर्षदेखि निरन्तर व्यावसायिक रूपमा तरकारी र दूध उत्पादन गर्दै आएको तर अहिलेसम्म कहीँकतैबाट पुरस्कार नपाएको उनको भनाइ छ । पाण्डेले भने, “कृषि ज्ञान केन्द्रले सबै किसानलाई अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ, यस वर्ष मलाई सम्मान गरेपछि थप हौसला मिलेको छ ।”