२२ बैशाख २०८२ , सोमबार

बागलुङमा स्थानीयको सक्रियता: चन्दा सङ्कलन गरी किरियाघर निर्माण

News
२१ बैशाख, काठमाण्डौँ ।

बागलुङ बजारस्थित उपल्लाचौरका स्थानीयले चन्दा सङ्कलन गरी किरियाघर निर्माण गरेका छन्। दुःखद क्षण र काजकिरिया गर्न समस्या भएपछि बागलुङ नगरपालका–४ उपल्लाचौरका स्थानीयले सामुदायिक किरियाघर निर्माण गरेका हुन्।

करिब रु २३ लाखको लागतमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन ठाउँमा पूजा गर्न, पिण्ड चढाउन मिल्ने सत्तल निर्माण गरिएको छ। यो भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फूर्त रूपमा चन्दा सङ्कलन गरिएको हो।

सामुदायिक भवनबाट काजकिरिया गर्न सबैका लागि सहज बनाउने उद्देश्यले चन्दा सङ्कलनमार्फत किरियाघर निर्माण गरिएको समितिका अध्यक्ष हरिबहादुर जिसीले बताए। मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पु¥याउने उद्देश्यले किरियापुत्री बसेर सहज रूपमा आवश्यक कर्म गर्न सकुन् भनेर भवन निर्माण गरिएको उनले बताए।

“उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न किरिया भवन निर्माण गरिएको हो”, अध्यक्ष जिसीले भने, “बागलुङ–४ वडा कार्यालयको रु एक लाख ३६ हजार र अन्य रु २१ लाख ६४ हजार चन्दा सङ्कलनमार्फत भवन निर्माण भएको छ। साथै दुई सय ८७ जनाले रु पाँच हजारका दरले सहयोग गर्नुभएको छ। केहीले रु एक हजार, दुई हजार पनि सहयोग गर्नुभएको छ।”

स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ। विसं २०७७ मा निर्माण सुरु गरिएको भवन कोरोना महामारीका कारण रोकिएर अहिले सम्पन्न भएको हो। आर्थिक सामाजिक हिसाबले कमजोर भएका कोही पनि काजकिरिया गर्नबाट बञ्चित हुन नपरोस् भनेर भवन निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारीले बताए।