१२ जेष्ठ २०८२ , सोमबार

पर्यटन विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढङ्गले अघि बढ्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

News
११ जेष्ठ, काठमाण्डौँ ।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

गणतन्त्र दिवस-२०८१ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उनले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए। पर्यटनमन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताए।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्राण्डिङ र प्रचारका लागि नीतिगत रुपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गर्दै उनले नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य रहेको बताए। मन्त्री पाण्डेले राससले महत्त्वपूर्ण विषयमा फोटो प्रदर्शनी गरेको र प्रदर्शित फोटोले पनि राज्यले केही गर्नुपर्छ भनेर घच्घच्याएको बताए।

उनले राससले जिम्मेवारीपूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाउँदै पछिल्लो पटकको फोटो प्रदर्शनीले सरोकार भएका मन्त्रालय र निकायलाई सचेत गराएको बताए।

यसअघि पर्यटनमन्त्री पाण्डेले फोटोे प्रदर्शनीको अवलोकन गरेका थिए। नेपालका आठ हजार मिटर अग्ला र त्यो भन्दा होचा, चर्चामा रहेका हिमाल, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्चपदस्थ व्यक्ति, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्वतीय गन्तव्य, ताल, पोखरीलगायत विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखिएका छन्।