अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बबई बहुमुखी क्याम्पस कमिटीले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।
अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै क्याम्पसमा विगत १० वर्षदेखि दर्ता बिना क्यान्टिन सञ्चालन भइरहेको र ‘बबई चमेना गृह’को नाममा फर्जी बिल बनाई क्यान्टिन सञ्चालकको नाममा क्याम्पसको लेखा शाखाबाट नियमित रूपमा भुक्तानी हुने गरेको आरोप लगाएको छ। यस अनियमितताको विरोधमा अनेरास्ववियुले वैशाख २६ गते क्याम्पसमा तालाबन्दी गरेको थियो।
विज्ञप्तिमा क्याम्पस प्रशासनकै मिलेमतोमा नेपाल विद्यार्थी संघ (ने.वि. संघ) का विद्यार्थीहरूले ताला तोडेको घटनाको घोर भर्त्सना गरिएको छ। संलग्नलाई आवश्यक कारवाही नगरुन्जेल पुनः क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी जारी रहने अनेरास्ववियुले जनाएको छ।
अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष कौशल सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बबई बहुमुखी क्याम्पस, मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रशासन कार्यालय बर्दियालाई बोधार्थ दिइएको छ।