५ जेष्ठ २०८२ , सोमबार

हुम्लाको तिलगाउँमा हिमपहिरोले क्षति, खानेपानी र विद्युत् अवरुद्ध

News
५ जेष्ठ, हुम्ला ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पु¥याएको छ। यही जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पु¥याएको हो।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिएका छन्। हिमताल भाँसिएपछि गाउँमा बाढीपहिरो आएको उनले बताए। वडाध्यक्ष तामाङले नौ घण्टा हिँडेर आफ्नो टोली ताल भासिएको ठाउँमा पुगेको जानकारी दिए। "लेदो र पहिरो आउने क्रम रोकिएको छ, तर यहाँका बासिन्दा त्रसित छन्," उनले भने।

बाढीपहिरोका कारण तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा खोलाको दूषित पानी पिउन बाध्य छन्। खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताए। गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको र पाइप फुटेकाले स्थानीयले खोलाको धमिलो पानी पिउन थालेको उनले जानकारी दिए। बाढीपहिरो आएपछि यहाँका ३३ जना विद्यालय नजिकै पाल टाँगेर बस्दै आएका छन्। उनीहरु पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन्।

हिमपहिरोले गाउँ नजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ। अहिले यहाँका बासिन्दा बिजुलीबिहीन अवस्थामा छन्। पाक्न लागेको उवा बाली पनि सबै सखाप भएपछि स्थानीयवासी राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिए।