१५ बैशाख २०८३ , मंगलवार

अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदर घटाएर ३.८५ प्रतिशत कायम

News
७ जेष्ठ, काठमाण्डौँ ।

अष्ट्रेलियाको केन्द्रीय बैंकले मौद्रिक नीति परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा झारेको छ । यो सन् २०२४ को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।

बैंकले मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यले ब्याजदर घटाइएको जनाएको छ । सन् २०२२ मा उच्च मुद्रास्फीति भएपछि केन्द्रीय बैंकले ब्याजदर बढाएको थियो । ती नीतिहरूले माग र आपूर्तिबीच सन्तुलन ल्याउन केही हदसम्म सफलता पाएको र मूल्यवृद्धिमा केही कमी आएकाले ब्याजदर घटाउने निर्णय गरिएको हो ।

पछिल्ला तीन महिनामा विश्वभर आर्थिक अनिश्चितता बढेको र त्यसको असर अष्ट्रेलियाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सावधानीपूर्वक नीति बनाइरहेको बैंकले जनाएको छ ।

यस परिवर्तनले ऋण लिनेहरूलाई राहत मिल्ने र लगानी प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । आर्थिक वातावरण अझै पूर्ण रूपमा स्थिर नभएकाले केन्द्रीय बैंकले आगामी महिनाहरूमा परिस्थिति अनुसार कदम चाल्ने जनाएको छ ।