सुनसरीमा पिकअप जिप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ।
गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा आज भएको दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो।
प्रदेश २–०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यहाँको त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।
दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनका १४ वर्षीया छोरी घाइते भएका छन्।