१८ कार्तिक २०८२ , मंगलवार

सशस्त्र प्रहरी पर्साद्वारा भन्सार छलीका सामान बरामद, राजस्व सङ्कलनमा तीव्रता

News
१४ असार, काठमाण्डौँ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य बराबरको भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा तीन करोड ९० लाख ४४ हजार छ सय ६ मूल्य बराबरको भन्सार छली तथा बिलबीजक नभएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आव भरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्राइने वस्तु तथा सामानको बरामद उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए।

उनका अनुसार, भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार चार सय ८७ रकम मूल्य पर्ने अवैध सामान वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ। सशस्त्र प्रहरीले भन्सार कार्यालयसँगको सहकार्यमा शंकास्पद गोदामको नियमित अनुगमनको क्रममा भन्सार छलीका सामान बरामद हुने क्रम ह्वातै बढेको बताए।

सशस्त्र प्रहरीले बिलबीजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयाँ बुझाउँदै आइरहेको छ । चालु आवको जेठ १० गतेसम्मको अवधिमा बिलबीजक नभएका १० करोड ७१ लाख २३ हजार चार सय तीन मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ।

सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपाट्र्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ। पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा सीसीक्यामेरा, नाकामा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आएकाले पनि अवैध सामानको बरामद हुने क्रममा तिव्रता पाएको हो।

चालु आवमा स्रोत नखुलेको (हुण्डी) एक करोड १५ लाख ९४ हजार पाँच सय २२ रकम पनि बराबद गरिएको छ। त्यस्तै ४२ लाख मूल्य पर्ने एक हजार पाँच सय ९६ क्यूफिट काठ बरामद गरिएको छ ।