२३ बैशाख २०८२ , मंगलवार

अनेरास्ववियुको आरोप: शिक्षक आन्दोलनको आडमा सरकारी विद्यालय कमजोर पार्ने षड्यन्त्र

News
७ बैशाख, काठमाण्डौँ ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शिक्षक आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थाका स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न षड्यन्त्र गरिरहेको आरोप लगाएको छ।

अध्यक्ष बडालले विज्ञप्ति जारी गर्दै सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन्। उनले निजी विद्यालयहरूले भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेको र यसले सरकारी विद्यालयमाथि प्रश्न उठाइरहेको बताए।

विज्ञप्तिमा पछिल्लो ५ वर्षमा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको र सार्वजनिक विद्यालयबाट वार्षिक झन्डै ७ लाख विद्यार्थी बाहिरिएको दाबी गरिएको छ।

अनेरास्ववियुले शिक्षा कुनै गुट, संगठन वा सरकारको स्वार्थको खेल नभएको भन्दै सरकार, शिक्षक महासंघ र शिक्षा नीति बनाउने सबै सरोकारवालाहरूलाई चेतावनी दिएको छ। साथै, आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्न र आफ्ना मागका लागि विद्यार्थीलाई घेराबन्दीमा नपार्न सुझाव दिएको छ।