२४ जेष्ठ २०८२ , शनिबार

अन्नपूर्ण आरोहण: फ्रान्सेली आरोहीको आइस एक्स सङ्ग्रहालयमा प्रदर्शन

News
२३ जेष्ठ, काठमाण्डौँ ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन हो सन् १९५० जुन ३ अर्थात् विसं २००७ जेठ २१ । जुन दिन फ्रान्सका मौरिस हर्जोग र लुइस लचेनले विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गरेका थिए । हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष अन्नपूर्ण हीरक महोत्सव सञ्चालन भइरहेको छ ।

सोही क्रममा बिहीबार पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा विविध कार्यक्रमको आयोजना गरियो । उक्त अवसरमा ७५ वर्षअघि अन्नपूर्ण हिमाल आरोहणका फ्रान्ेसीले आरोही हर्जोगले प्रयोग गरेको ‘आइस एक्स’ सङ्ग्रहालयलाई प्रदान गरिएको थियो । हर्जोगका छोरा म्याथियसलगायत परिवारका सदस्यले उक्त आरोहण सामग्री सङ्ग्रहालय सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पालाई हस्तान्तरण गरेका थिए ।

स्वीटजरल्यान्डको ओलम्पिक म्युजियममा रहेको रहेको उक्त ‘आइस एक्स’लाई एक वर्षका लागि पर्वतीय सङ्ग्रहालयको प्रदर्शनीकक्षमा राखिने भएको हो । सोही अवसरमा सङ्ग्रहालय परिसरमा निर्मित हर्जोग र उनको आरोहण दलका मुख्य सहयोगी आङ थार्के शेर्पा र वालुङ सोनाम शेर्पाको सालिक अनावरण गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र फ्रोन्सेली राजदूत भर्जिनी कोर्टेभलले सालिक अनावरणसँगै माल्यापर्ण गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री पाण्डेले विश्वकै पर्वतारोहण इतिहासमा अन्नपूर्ण आरोहणको बेग्लै स्थान रहेको बताए । “अन्नपूर्ण हिमाल आरोहण मानव जातिकै इतिहासमा नौलो घटना थियो, जसले नेपालको गौरवलाई समेत विश्वव्यापी बनायो”, उनले भने, “नेपाललाई चिनाउने बुद्ध, बेद र हिमालले हो, हाम्रो देश हिमालहरूको तीर्थस्थल हो ।” पर्वतारोहणका माध्यमबाट नेपालले ठूलो लाभ लिनसक्ने भन्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनको असरबाट हिमाललाई जोगाउनुपर्ने चुनौती थपिएको बताए ।

उनले पर्यटन ऐन र नीति चाँडै ल्याउने बताए । पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी आकर्षण गर्नुपर्नेमा उनको जोड थियो । फ्रान्सका राजदूत कार्टेभलले फ्रोन्सेली टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको दिन नेपाल–फ्रान्स मित्रताको कोशेढुङ्गाका रूपमा रहेको बताए । हर्जोगका छोरा म्याथियस, नातिलगायत परिवारका सदस्य उक्त कार्यक्रममा सहभागी थिए ।

म्याथियसले सङ्ग्रहालयलाई प्रदान गरेको ‘आइस एक्स’ एक वर्षपछि पुनः ओलम्पिक म्युजिममै पठाइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । उनले हर्जोगको स्मृतिमा सङ्ग्रहालयमा ‘क्लाइम्बिङ वाल’ बनाउने योजना रहेको सुनाइन् । सो अवसरमा मौरिसले अन्नपूर्ण हिमाल आरोहणबारे लखेको पुस्तक ‘अन्नपूर्ण’को नेपाली संस्करणको आवरणसमेत सार्वजनिक गरिएको थियो ।