२५ जेष्ठ २०८२ , आईतवार

घोराहीमा अम्बिकेश्वरी ग्रीन पार्क सञ्चालनमा, आन्तरिक पर्यटकको आकर्षण बढ्दो

News
२५ जेष्ठ, काठमाण्डौँ ।

घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अम्बिकेश्वरी ग्रीन पार्क निर्माण गरिएको छ। व्यावसायिक रूपमा निर्मित पार्कमा आकर्षक ताल, कृत्रिम झरना, विश्रामस्थल, पार्टी प्यालेसलगायत संरचना रहेका छन्। पार्क स्थानीय ३९ वर्षीय विकास बुढाथोकीले सञ्चालनमा ल्याएका हुन्।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बालबालिका, ज्येष्ठ नागरिक, युवा, विद्यार्थी सबैलाई लक्षित गरी पार्क निर्माण गरिएको उनले बताए। गाउँघरमा उद्यम गर्न सकिने भन्दै रु पाँच करोड लगानीमा पार्क निर्माण गरेको बुढाथोकीले जानकारी दिए।

“स्थानीयस्तरमा स्वरोजगारमूलक काम गरी आयआर्जन गर्न सकिन्छ भन्ने सोचका साथ करिब नौ वर्षसम्म शिक्षण पेसामा आबद्ध भएँ”, उनले भने, “अहिले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याएको हुँ। यहाँ अझै केही संरचना बनाउन बाँकी छ, अधिकांश भने बनिसकेका छन्।”

गत वैशाख १७ गतेदेखि सञ्चालनमा आएको पार्कमा दैनिक एक हजार बढी नागरिक पुग्ने गरेको बुढाथोकीले जानकारी दिए। जिल्लाको घोराही, तुलसीपुर, लमही लगायत ठाउँबाट आन्तरिक पर्यटक यहाँ आउने गरेको भन्दै उनले यसको प्रचारप्रसार गर्न सके अन्य जिल्लाका साथै छिमेकी मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे।

पार्कमा बालबालिकाका लागि स्वीमिङ, बोटिङ, रुखमाथि क्याफेलगायत संरचना निमार्णको अन्तिम चरणमा पुगेका बुढाथोकीले उल्लेख गरे। “यहाँ सबै उमेर समूहका लागि संरचना तयार गरिएको छ। करिब २० फिट उचाइको छहराबाट पानी बग्ने झरनासमेत बनाइएको छ। पार्क स्थापनाको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु हो”, उनले भने।

पार्कको प्रचारप्रसारमा स्थानीय सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिँदै यसले जिल्लाको पर्यटन विकास सहयोग पु¥याउनुका साथै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। उनका अनुसार पार्कमा प्रवेशका लागि रु एक सयको टिकटको व्यवस्था गरिएको छ।

सञ्चालक बुढाथोकीले निजी लगानीमा दाङसहित आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित पार्कमा लगानी थपेर केही संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। “अघिपछिको तुलनामा भन्दा बिदाको दिनमा करिब एक हजार २०० आन्तरिक पर्यटक यहाँ आउँछन्। पार्क नजिककै धार्मिक तथा पर्यटकीयस्थल अम्बिकेश्वरी मन्दिर रहेकाले पनि आन्तरिक पर्यटकको आगमन बढेको हो”, उनले भने।

घोराही उपमहानगरपालिका–१५ की सरिता केसीले पार्कमा निर्मित संरचना बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैलाई आकर्षित गर्ने किसिमका रहेका बताइन्। उनले छोराछोरीलाई पार्क अवलोकनका लागि लिएर आएको भन्दै पार्कका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखिन्।

स्थानीय नागरिकले सञ्चालनमा ल्याएको पार्कले यहाँको व्यवसाय र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै आयआर्जन र रोजगारीका अवसर सृजना हुने केसीले विश्वास व्यक्त गरिन्। उनले स्थानीय सरकारले पार्कको प्रचारप्रसारमा सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। उक्त ग्रीण पार्क करिब एक बिघा क्षेत्रफलमा फैलिएको छ।