खोटाङमा अकबरे खुर्सानीको मूल्य अहिलेसम्मकै उच्च भएको छ। सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ।
दिक्तेलका व्यापारीले गाउँका किसानबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा किनेर ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन्। मूल्य महङ्गो भए पनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हप्तामा १४/१५ किलो बिक्री गरिरहेको बताए। "मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रोपेको छु। अहिले हप्तामा १४/१५ किलो उत्पादन हुन थालेको छ," उनले भने, "जिल्लामा अकबरे खुर्सानीको माग राम्रो छ। आगामी दिनमा बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप बढाउने योजनामा छु।"
दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका किसानले उत्पादन गरेका खुर्सानी र तरकारी बिक्री हुने गरेको छ। व्यावसायिक तरकारी खेती गर्ने थोरै किसानले राम्रो आम्दानी पनि गरिरहेका छन्।
जिल्लामा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी र फलफूलको मूल्य अहिलेसम्मकै उच्च भएको छ। किसानका लागि भनेर सरकारले दिने अनुदान नेताका नजिकका व्यक्तिले लिने र खेती नगरी सक्ने गरेकाले जिल्लामा तरकारी र फलफूलको मूल्य बढेको उपभोक्ताको गुनासो छ।
दिक्तेलमा अहिले गोलभेडा प्रतिकिलो रु १५०, कन्य च्याउ प्रतिकिलो रु ३००, प्याज प्रतिकिलो रु ९०, आलु प्रतिकिलो रु ६०, बन्दागोभी प्रतिकिलो रु ४० र काउली प्रतिकिलो रु १५० रहेको छ। सरकारी अनुदानमा वास्तविक किसानको पहुँच नपुगेसम्म तरकारीको मूल्य अझै बढ्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका किसान गङ्गाबहादुर विश्वकर्माले बताए।
जिल्लामा उत्पादित फलफूल तथा तरकारीको मूल्य बढेपछि तराईका विभिन्न जिल्लाबाट ल्याइएका तरकारी र फलफूलले बजार भरिएको छ। तराईबाट सस्तो मूल्यमा ल्याइएका तरकारी र फलफूल बिना परीक्षण खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकाय मौन छन्।