रौतहटको बम विस्फोट र सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका पूर्व सांसद आफताब आलमलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ । वीरगन्जस्थित उच्च अदालतको इजलासले आलमलाई सफाइ दिने फैसला सुनाएको हो । न्यायाधीशद्वय डा. खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले यो फैसला गरेको हो ।
यसअघि रौतहट जिल्ला अदालतले आलमलाई बम विस्फोट गराई मानिसहरूको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतले जिल्ला अदालतको उक्त निर्णयलाई उल्ट्याउँदै आलमको पक्षमा फैसला गरेको हो ।
के थियो घटना ?
२०६४ साल चैत २७ गते, पहिलो संविधानसभा निर्वाचनको ठीक अघि रौतहटको तत्कालीन राजपुर फरहदवा–४ मा बम विस्फोट भएको थियो । आलम, जो त्यतिबेला कांग्रेसका उम्मेदवार थिए, उनकै घरमा बम विस्फोट भएको थियो । निर्वाचनमा त्रास फैलाएर बुथ कब्जा गर्ने उद्देश्यले आलमले भारतीय नागरिकहरूलाई बोलाएर बम बनाउन लगाएका थिए । सोही क्रममा बम विस्फोट हुँदा त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर मियाँ घाइते भएका थिए । पछि, घटनाको रहस्य खुल्ने डरले आलमले घाइतेद्वयसहित २३ जनालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर जलाएको आरोप लागेको थियो ।
घटना भएको १२ वर्षपछि, २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए । घटनापछि पनि उनी रौतहट क्षेत्र नम्बर २ बाट दुई पटक सांसद निर्वाचित भएका थिए ।
रौतहट जिल्ला अदालतले आलमसहित उनका भाइ मोहम्मद महताब, बद्री सहनी, शेख सराज र शेख सर्राफलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय तोकेको थियो । उच्च अदालतको यो फैसलासँगै घटनाले नयाँ मोड लिएको छ ।