सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आईटी) क्षेत्र विकासका लागि महत्वपूर्ण भएकाले यसमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१÷२०८२ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस विषयमा अर्थ मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिए। प्रगति समीक्षापछि मन्त्री गुरुङले आइटी क्षेत्र विकासका लागि महत्वपूर्ण हुँदा हुँदै पर्याप्त बजेट नभएको र यसमा अर्थ मन्त्रालयले सहजीकरण गर्नुपर्नेमा जोड दिए। बजेटबिना डिजिटल फ्रेमवर्कको परिकल्पना पूरा गर्न सम्भव नहुने र यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
विगतमा जस्तै पुँजीगत खर्चमा मन्त्रालयसमेत पछि परेको स्वीकार गर्दै उनले यसले कर्मचारीको कार्यक्षमतामा सुधार गर्नुपर्ने र मन्त्रालयबीच सहकार्य विकास गर्नुपर्ने देखिएको बताए। उनले तोकिएका ‘माइलस्टोन’ पूरा गर्न र असार मसान्तसम्म मन्त्रालयअन्तर्गतका सबै निकायलाई पुँजीगत खर्च बढाउने गरी कार्यसम्पादन गर्न आग्रह गरे।
बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले पुँजीगत खर्चमा देखिएका समस्या समाधानबारे सबैले सोच्नुपर्ने बताइन्। उनले आइटी क्षेत्रको नेतृत्व गर्ने सञ्चार मन्त्रालयमा लगानी नै नदेखिएपछि कसरी प्रगति हुन्छ भन्दै योजना आयोगको ध्यानाकर्षण गराइन्। अर्थ मन्त्रालयका उपसचिव नीरन भट्टराईले पुँजीगत खर्च सरकारको मुख्य समस्या भएको बताउँदै अबको बजेट विनियोजनमा अति आवश्यक र खर्च गर्न सकिने विषयमा मात्रै बजेट राख्न अनुरोध गरे। राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले हाल ३० हजारभन्दा बढी आयोजना रहेका र तयारी नै नभएका योजनामा बजेट राख्ने प्रवृत्तिले पुँजीगत खर्च हुन नसकेको धारणा राखे।