आज बिहान काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ।
गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस पिङ्लास्थान नजिक आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा बससहित एउटा हायस, तीन वटा कार, दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका-२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका-५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको छ।
अनियन्त्रित भएर पल्टिएको बसका चालक भने फरार भएका छन् र प्रहरीले उनको खोजी जारी राखेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।