१० जेष्ठ २०८२ , शनिबार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

News
१० जेष्ठ, काठमाण्डौँ ।

अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएका छन्। मेसिन ल्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ। बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन्।

करिडोर भएर बुटवल, भैरहवा लगायतका ठाउँमा चल्ने सवारीसाधन ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिएका छन्।