३ जेष्ठ २०८२ , शनिबार

कञ्चनपुरमा ५२ वर्षीया वडा सदस्य विद्यालय भर्ना

News
३ जेष्ठ, कञ्चनपुर।

पढाइको चाहना पूरा गर्न उमेरले छेक्दैन भन्ने कुरालाई कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सीयाकी ५२ वर्षीया वडा सदस्य डल्लीदेवी चौधरीले प्रमाणित गरेकी छन्। उनी गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर पढ्न थालेकी हुन्।

सानैदेखिको विद्यालय गएर पढ्ने चाहना भए पनि पढ्न नपाएको उनले बताइन्। सँगैका जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्ने तर आफूले औँठा लगाउनुपर्ने अवस्थाले उनलाई हीनताबोध हुन्थ्यो।

विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउँदा आफू नपढेकाले हीनता महसुस हुने गरेको उनले बताइन्। बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढ्नका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलाएको उनले बताइन्।

वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन्। समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन्। धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनको भनाइ छ।

बुबा किसान (जमिदार)को घरमा कमैया भएर काम गर्ने भएकाले सानै हुँदा विद्यालय पढ्छु भनेर बुबालाई भन्दा उनले पढ्ने कुराप्रति ध्यान नदिएको उनले बताइन्। विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पिएपछि पढ्ने कुरा सोच्न पनि नपाएको उनले बताइन्।

आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उनले बताइन्। छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सीपमूलक कार्यमा संलग्न गराएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उनले बताइन्।

वडासदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुने गरेको तर वडासदस्यमै दोस्रो कार्यकाल बित्न लाग्दा अब सबैका अगाडि बोल्न सिकेको उनले बताइन्। जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु उनले भनिन्।

विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए।