हुम्लाको अदानचुली गाउँपालिका–१ कुम्णामा ३३ केभी प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ। नेपाल विद्युत् प्राधिकरणको लगानीमा यो सबस्टेसन बन्न लागेको हो।
केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो। अहिले हुम्लामा दुई वटा ३३/३३ केभी क्षमताका सबस्टेसन बनिरहेका छन्। सदरमुकाम सिमकोट र अदानचुली गाउँपालिकाको कुम्णामा यी सबस्टेसन बनिरहेका छन्।
यी दुबै सबस्टेसन बनेपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताए। "प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत्को समस्या हुने छैन। यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ," उनले भने।
अहिले जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा मात्र विद्युत् पुर्याएको छ। अरु गाउँपालिकामा भने लघु जलविद्युत्को भरमा गाउँले छन्।
जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत् उत्पादन गरेर विद्युत् वितरण गरेको छ। अदानचुलीमा स्थानीयस्तरमा उत्पादन भएका १०० किलोवाटका दुई वटा विद्युत् आयोजना भए पनि पटकपटक बिग्रने गरेका छन्। अहिले कुकुर फाल्ना लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ। सो विद्युत् पनि सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छ। वडा नम्बर १, २ र ३ का लागि बनेको छहराखेत जलविद्युत्को पावर हाउस गतवर्ष पहिरोले बगाउँदा फेरि बनाउन सकिएको छैन।
ती प्रसारण लाइनबाट राम्रो बिजुली नआएपछि ३३ केभी प्रसारण लाइनका सबस्टेसन बनाउन लागिएको हो। यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए।
अहिले ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ। सुदूरपश्चिम हुँदै ११ केभिको एलटीलाईन तान्ने काम भइरहेको छ। यो निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताएअनुसार बाजुराको मार्तडी सबस्टेसनबाट, कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार ओटा पोल गाड्ने काम भइरहेको र दसैँमा विद्युत् बाल्ने तयारी छ।
हुम्लाको विद्युत् आपूर्तिलाई राम्रो बनाउन सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउँछन्। हुम्ला र मुगुका चार सब स्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएको छ। अहिले मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेशन निर्माण भइरहेको इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए। अहिले ३३ केभीमा राम्रो बनाउने काम भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए।
राष्ट्रिय प्रसारण लाइन जोडिँदै
२०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो। नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन बनाएर मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियो।
मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो। हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता भएर अहिले सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सब स्टेसन निर्माण भइरहेको छ।