खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा अब चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताएका छन्।
बूढानीलकण्ठ नगरपालिका–४ मा निर्मित खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले काठमाडौँवासीले अब सधैँभरि पानी पाउने बताए। उनले मेलम्चीको पानी दैनिक आपूर्ति गरिने जानकारी दिए।
आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पु¥याउन आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री यादवले बताए। बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पानीको समस्या हुन नदिन आफू निरन्तर क्रियाशील रहेको परिणामस्वरुप आयोजना समयमै सम्पन्न भएको उनले बताए।
काठमाडौँ उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास भइरहेको मन्त्री यादवले जानकारी दिए।
उक्त आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं ५, बूढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का अध्यक्ष राम केसी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायतको उपस्थिति थियो।