१६ जेष्ठ २०८२ , शुक्रबार

जिल्लामा खोप अभियान : ८९ हजार पशुलाई खोप

News
१५ जेष्ठ, काठमाण्डौँ ।

जिल्लामा खोप अभियान सञ्चालन गरी ८९ हजार पशुलाई खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो।

चालु आर्थिक वर्षमा पूर्ण खोप कार्यक्रममार्फत ८९ हजार ५५१ गाईभैँसी, बाख्रा, भेँडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिए। दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएका उहाँले बताए।

पूर्ण खोप अभियानका लागि एउटा वडामा भूगोल र पशुसङ्ख्याको आधारमा दुईदेखि तीन जनाको दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो। पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएकाले अभियान सञ्चालन गरिएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यमा पर्नसक्ने नकारात्मक प्रभावबाट बचाउन, पशुजन्य रोगको उपचार र नियन्त्रणमा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ।

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मुल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउन ११ वटा जिल्लाका पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिरहेको छ।