खिजीदेम्बा गाउँपालिकाका ९ वटै वडामा सञ्चालन भएको पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ र आङ खस्ने समस्या पहिचान शिविरमा ६ सय ४५ जना महिलाले सेवा लिएका छन्। अस्पतालको पहुँचभन्दा टाढा रहेको दुर्गम गाउँपालिकामा निःशुल्क शिविर सञ्चालन भएपछि वर्षौंदेखि रोगसँग जुधिरहेका महिलाहरू लाभान्वित भएका हुन्।
गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं. १ देखि ९ सम्मका ३० वर्षभन्दा माथिका उमेर समूहका महिलाको लागि निःशुल्क पाठेघर र स्तन क्यान्सरसम्बन्धी परीक्षण शिविर आयोजना गरिएको थियो। शिविरमा परीक्षण गरिएकामध्ये ६८ जनामा जटिल समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार वडा नं. १ र २ बाट ९७ जना, वडा नं. ३ बाट ९४ जना, वडा नं. ४ बाट ५० जना र वडा नं. ५ बाट १३० जनाले सेवा लिएका छन्। यसैगरी वडा नं. ६ बाट १२९ जना, वडा नं. ८ बाट ८६ जना र वडा नं. ९ बाट ५९ जना गरी जम्मा ६४५ जना महिलाले शिविरमा सेवा लिएका हुन्।
जेठ ५ गतेदेखि जारी शिविर वडा नं. ७ मा आज पनि सञ्चालन भइरहेको छ। परीक्षण गरिएकामध्ये १९ जनामा पाठेघर खस्ने जटिल समस्या, ३३ जनामा भिआइए शङ्कास्पद अवस्था र १९ जनामा पाठेघरमा मासु पलाएको (सिस्ट) को समस्या देखिएको छ। शिविरमा जटिल समस्या देखिएकाहरूलाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए। पाठेघर तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचान, जोखिम न्यूनीकरण, र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ।