प्रथम महिला राधिका शाक्यले देशको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने बताएकी छन्।
आज यहाँ एउटा कार्यक्रममा किताब सार्वजनिक गर्दै उनले आफ्नो स्वार्थभन्दा माथि उठेर सबै नेपालीले देशका लागि काम गर्नुपर्ने बताइन्।
देशमा गणतन्त्र आएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत धेरै क्षेत्रमा विकास भएको बताउँदै उनले राजनीतिक परिवर्तनले निराशा बढायो भन्नेहरूलाई एकपटक सोच्न आग्रह गरिन्।
“देशमा केही भएन भन्नेहरूले एकपटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्। सरकारले निकालेका विकासका किताबहरू पढ्नुस्। प्रजातन्त्र आएपछि देशमा धेरै परिवर्तन भएको छ। केही भएन भन्ने कुरा गलत हो,” उनले भनिन्।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजावादी समूहका केही मानिसहरूले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो शरीरमा रगत रहुञ्जेल देशका लागि लडिरहने बताइन्। देशको विकास नै प्रधानमन्त्रीको लक्ष्य भएको उनको भनाइ थियो। उनले भनिन्, “बालुवाटार घेर्छु भन्नेहरूलाई जनताले चिनिसकेका छन्।”
समृद्ध मध्यपुर समाजले प्रकाशन गरेको ‘जेसुम यात्रा’ कविता सङ्ग्रह प्रथम महिला शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको पुस्तकमा प्रधानमन्त्री ओलीका साथै धेरै लेखकका कविताहरू छन्। पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, घनश्याम खतिवडालगायतका कविताहरू छन्। उनीहरूले आफ्ना कविताहरू सोही कार्यक्रममा वाचन गरेका थिए।
कला, साहित्य र रङ्गमञ्चमार्फत राम्रो सन्देश दिने उद्देश्यले यही फागुन १ गते जेसुमले शङ्खधर चोकबाट सुरु गरेर बालकुमारी हुँदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका सम्पदाहरू हेरेर कविता लेखेका थिए। सम्पदास्थलमै बनाएका चित्रहरू पनि पुस्तकमा राखिएका छन्।