बाँके प्रहरीले डुडुवा गाउँपालिका–४ लालापुर्वाबाट ११४ केजी अवैध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय दिपेश चौरासिया, सोही ठाउँका १८ वर्षीय विनय सोनि र १८ वर्षीय आदर्श साहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा दिपेश चौरासियाको साथबाट ३ केजी गाँजा बरामद भएको थियो । थप अनुसन्धान गर्दा लालापुर्वास्थित भागिराम खटिकको (मानिस नबस्ने) घरबाट १०० केजी र राधे खटिकको (मानिस नबस्ने) घरबाट ११ केजी गाँजा बरामद भएको हो ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिए ।