विद्यालय कानुनको माग गर्दै शिक्षकहरूले जारी राखेको आन्दोलन वार्ताबाटै टुंग्याइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे जानकारी दिएका छन् ।
सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षक आन्दोलन वार्ताबाटै टुंग्याउने गरी सोमबार साँझ भएको वार्ता सकारात्मक रहेको र आन्दोलन टुंगिने दिशातर्फ उन्मुख भएको जानकारी शिक्षामन्त्री पन्तले मन्त्रिपरिषद् बैठकमा दिएको बताए ।
सोमबार साँझ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा सत्तारुढ दलका नेता र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ । करिब तीन घण्टा चलेको छलफलमा महासंघले उठाएका माग सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक देखिएको छ । वार्ता सकारात्मक दिशामा अघि बढेपछि २७ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिने देखिएको छ ।
बैठकमा कांग्रेस उपसभापति खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना सहभागी थिए ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनलाई सम्बोधनमार्फत प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।