८ जेष्ठ २०८२ , बिहीबार

स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन सांसद गौतमको विश्वव्यापी आह्वान

News
८ जेष्ठ, काठमाण्डौँ ।

प्रतिनिधिसभाकी सांसद सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गरेकी छन्। जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन्।

अन्तर–संसदीय सङ्घ (आइपियू) स्वास्थ्य समितिको सदस्यसमेत रहेकी सांसद गौतमले कानुन निर्माण र आवश्यक लगानीका क्षेत्रमा विश्वभरका सांसदहरूलाई एकजुट भई सहकार्य र समन्वय गर्न आह्वान गरिन्।

“दृढताका साथ कानुन बनाऔँ, निर्भयतापूर्वक आवश्यक लगानी गरौँ र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाका रूपमा संरक्षण गरौं”, उनले भनिन्, “सांसदहरू अब परिवेक्षक मात्र होइन, हामी उत्तरदायित्वको रक्षा, समताका पक्षधर र दूरगामी विकासका नेतृत्वकर्ता हौँ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्तर–संसदीय सङ्घ (आइपियू) को सहकार्यमा आयोजित उक्त संवाद कार्यक्रममा उनले हालै पारित भएको डब्लुएचओको महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन्।

“यो सम्झौताले महत्त्वपूर्ण कामको सुरुआत गरेको सङ्केत गर्दछ”, उनले भनिन्, “आगामी दिनमा महामारीको सम्भावना भएमा जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमा आदानप्रदान गर्नेदेखि न्यायोचित पहुँच सुनिश्चित गर्न पहुँच र लाभ साझेदारी प्रणालीमा संवाद र वार्ता गर्नुपर्नेछ।” त्यसका लागि विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्ने उनको भनाइ छ।

सांसद गौतमले सबै राष्ट्रहरूका संसद्बाट यो अनुमोदन हुनु आवश्यक रहेको बताइन्। उनले दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने सङ्केत दिएकोप्रति चिन्तासमेत व्यक्त गरिन्। “नेपाल जस्तो निम्न आय भएका देशमा यसको गम्भीर असर पर्छ। भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन। जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन”, उनले भनिन्।

सांसद गौतमले संसद् कार्यपालिकालाई जवाफदेही बनाउने मुख्य अङ्ग भएको भन्दै संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता प्रभावकारी नहुने बताइन्। उनले यस प्रकारको कार्यक्रमले संसद्लाई स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस भएको धारणा व्यक्त गरिन्।