शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री अभाव देखिएको छ। सहायक सामग्री अभावमा अपाङ्गता भएका व्यक्तिहरुलाई हिँड्डुल गर्न समस्या भएको छ।
महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासङ्घको समन्वयमा आइतबार आयोजजित अपाङ्गता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले सहायक सामग्री अभाव हुँदा कष्ट सहनुपरेको गुनासो गरेका थिए।
अपाङ्ग एकता समाज नेपालका अध्यक्ष हरिदत्त भट्टले नौ वर्षअघि दातृ निकायले उपलब्ध गराएका ह्विलचेयर, ट्राइसाइकल लगायत सहायक सामग्री बिग्रिएर कामै नलाग्ने भएको गुनासो गरे। नगरपालिकाले केही अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचेयर लगायत सहायक सामग्री उपलब्ध गराए पनि टिकाउ नभएको उनको भनाइ छ।
स्थानीय तहमा सर्वदलीय संयन्त्र हुँदा अपाङ्गता भएका व्यक्तिहरुका लागि केही बजेट विनियोजन हुने गरेको स्मरण गर्दै उनले जनप्रतिनिधि आएपछि बजेट विनियोजन रोकिएको बताए। उनीहरुलाई आवश्यकता आधारमा सेतो छडी, वैशाखी, लठ्ठी, कम्मरमा बाँध्ने पेटी, क्यालिफर, कुहिनो मुनीको हात, घुडा मुनीको कृत्रिम खुट्टा, ह्विल चियर, ट्राइसाइकल, विशेष जुत्तालगायत सामग्रीको व्यवस्था गरिदिन उनले आग्रह गरे।
अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा वकालत गर्दै आउनुभएका कालीप्रसाद चौधरीले मापदण्ड अनुरुपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताए।